शेर्पा बिर्सिएर ‘सगरमाथा संवाद’
Feb 25, 2025 | मनोरञ्जन

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गेसँगै पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सर एडमन्ड हिलरी भन्थे - अधिकांश पर्वतारोहण अभियानमा शेर्पाकै अहं भूमिका हुन्छ। उनले यति मात्र भनेनन्, जीवन नै आफूलाई शिखर पुर्याइदिने हिमाली क्षेत्रका शेर्पा समुदायमा समर्पण गरे। दर्जनौं विद्यालय, अस्पताल, पुल, खानेपानी आयोजना, वन संरक्षण, पर्यटनका लागि आधारभूत संरचना केके मात्र बनाइदिएनन् उनले। शेर्पाकै सहायताका लागि सोलुखुम्बुको फाप्लुमा अस्पताल बनाइरहेका उनलाई भेट्न जाने क्रममा त्रिभुवन विमानस्थलबाट उड्ने बेला भएको जहाज दुर्घटनामा पत्नी र सानी छोरीसमेत मारिए। हिलरीजस्तै विश्वकै थुप्रै पर्वतारोही नेपाली शेर्पाको अदम्य साहसका अघि कायल भएका छन्, आफ्नो ज्यानको माया मारेर पर्वतारोहीलाई शिखर चढाउने कर्मको उनीहरूले खुला हृदयले प्रशंसा गरेका छन्। सक्नेले सहयोग गरेका छन्, नेपाललाई नै आफ्नो दोस्रो घर बनाएका छन्।
‘विदेशी पर्वतारोहीहरू नेपाल आउँछन्, हाम्रै शेर्पाको काँध चढेर नाउँ कमाउँछन्, जान्छन्। हामी वाल्ल परेर रमिता हेरिरहन्छौं। खुबै गर्यौं भने हामी हिमालको गीत गाउँछौं, कविता लेख्छौं र हिमाली सौन्दर्यको धाक दिन्छौं। हिमालको विशालताको गुण गाएर हामी आफैं मक्ख पर्छौं। वास्तवमा हामीलाई आफ्नै हिमालको भौगोलिक स्थितिको केही ज्ञान छ?’ २०२१ मै भूगोलविद् हर्क गुरुङले यस्तो लेखेका छन्।
सगरमाथाका संरक्षक शेर्पाका बिर्र्सिएका जीवन-मरणबारे चिन्ता गरिएको पुस्तक हो - शेर्पा (लेखकः प्रदीप बस्याल र अंकितबाबु अधिकारी)। यो पुस्तकबारे पत्रकार एवं लेखक रमेश भुसालले लेखेका छन्, ‘शेर्पा एउटा थर वा समुदाय भए पनि यसलाई विश्वव्यापी बनाएको सगरमाथाले नै हो। ...शेर्पा आज पेसा पनि हो।’
उनी लेख्छन्, ‘...जीविका चलाउनकै लागि हिमालमा हेलिने शेर्पाको जिन्दगी खुकुरीको धारमा उभिएको जस्तो देखिन्छ। कहिले त्यो खुकुरीले हिउँ काट्छ र विजयभाव उत्पन्न गराउँछ, कहिले त्यही धारले जिन्दगी सिध्याइदिन्छ। सगरमाथामा मृत्यु हरेक पाइलाको हिउँले बोकिरहेको हुन सक्छ।’
नयाँ पुस्ताका पर्वतारोही एवं पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाको मत झन् प्रस्ट छ। उनको भनाइमा शेर्पाहरूले धेरैलाई हिमाल चढाए तर स्वयं भने सधैं छायामा परिरहे। जसलाई चढाए, ऊ हिरो भइदियो, काम गर्ने कालु मकै खाने भालुजस्तो। तर पछिल्लो पुस्ताले भने यसलाई अस्वीकार गर्न थालेको छ,’ उनी भन्छन्।
सगरमाथासँगै आठ हजार मिटरमाथिका अधिकांश हिमालको घर हो– सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका। र, यहाँका अध्यक्ष छन्– बुबा अधिकारी र आमा शेर्पाका छोरा लक्ष्मण अधिकारी। उनी बारम्बार केन्द्रीय सरकारले खुम्बु क्षेत्र र यहाँका बासिन्दालाई अन्याय गरेको बताउँछन्। उनी भन्छन्, ‘सडक सञ्जाल नभएका कारण खुम्बुका हरेक वस्तु र सेवाका लागि काठमाडौंमा भन्दा पाँच गुणा खर्च लाग्छ। तसर्थ, सरकारले बजेट बनाउँदा जनसंख्या होइन, भौगोलिक विकटतालाई पनि ध्यान दिनुपर्छ। अर्कोतर्फ पर्यटन नै जीवनयापनको मुख्य आधार भएको खुम्बु क्षेत्रमा हिमालको संरक्षण झन्झन् चुनौतीपूर्ण बनिरहेको उनको भनाइ छ। हिमालहरू कालाम्मे बन्दै छन्। अरू देशको गल्तीका कारण सिर्जित जलवायु संकटले हामीलाई पिरोलेको छ। कृषि उत्पादन खासै नहुने र अन्य रोजगारी नभएकाले हिमाली बासिन्दा बाध्यताले भरिया बनेर हिमाल चढ्छन्।
सन्दर्भ काठमाडौंमा जारी ‘सगरमाथा संवाद’ कार्यक्रमको हो। जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यजस्तो बहुआयामिक विषयमा छलफल गर्न भन्दै सरकारले पहिलोपटक आयोजना गरेको ‘ऐतिहासिक’ भनिएको यो संवादमा शेर्पा समुदाय, उनीहरूका जीवन र पीडालाई लगभग बिर्सिएको छ। यो गल्ती आयोजक समितिदेखि विज्ञ निर्धारण र विषयगत छलफलमा सहभागीसम्ममा प्रस्टसँग देखिएको छ। सरकारी स्तरबाट यो संवाद आयोजनाका लागि गठित मूल समितिमा अध्यक्ष प्रधानमन्त्रीदेखि अर्थमन्त्री, परराष्ट्रमन्त्री, वन तथा वातावरणमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, आर्थिक सल्लाहकारदेखि कर्मचारी र निजी क्षेत्रका प्रतिनिधिले भरिएका छन्। बाँकी चार वटा समितिमा पनि अधिकांश सरकारी कर्मचारी हाबी छन्। संवादमा छुट्याइएका १२ वटा विषयगत छलफलमा भने मुस्किलले दुई जना मात्र शेर्पा अटाएका छन्। एक पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पा र अर्का सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा।
१३ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित एक सय ७५ जनाकोे सहभागिता रहेको भनिएको यो संवादमा निश्चिय नै जलवायु परिवर्तन, पृथ्वीको तापमान वृद्धि, पर्वतीय अर्थतन्त्र, जलावायुजन्य हानि–नोक्सानी, स्थानीयजनका समस्या, हिमालदेखि समुद्र जोड्ने योजनालगायत विभिन्न १२ विषयमा प्रस्तुति र छलफल हुने नै छ। तर, यी छलफलहरूमा यो क्षेत्रको प्रमुख सरोकारकर्ता र साझेदार रहेको शेर्पा समुदायलाई छुटाइनु क्षम्य हुन सक्तैन। किनकि, सगरमाथा र शेर्पा फरक होइनन्, एकअर्काका पर्याय हुन्। अर्को शब्दमा भन्ने हो भने सगरमाथाका पथपदर्शक मात्र होइन, संरक्षक नै सगरमाथा क्षेत्रका बासिन्दा हुन्। स्थानीयको सहभागिताबिना सगरमाथामा वा सगरमाथाका नामबाट हुने हरेक कार्यक्रमको औचित्यसिद्ध हुन सक्दैन।
‘सगरमाथा संवादका नाममा हामी सगरमाथा क्षेत्रको होइन, नेपाल र सम्पूर्ण हिमाली समुदायमा परेको असर र प्रभावबारे संवाद गर्न चाहन्छौं, त्यसैले पनि अहिले जे भयो, त्यो जायज हो,’ सरकारी तर्क यस्तो पनि हुन सक्छ। तर, यो विषय चरम गम्भीरताप्रति अज्ञानता हो। यसो भन्नेले गत कात्तिकमा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विश्वलाई जलवायु परिवर्तनको प्रमाण पेस गर्न भन्दै किन स्वयं सगरमाथा क्षेत्र र अन्नपूर्ण आधार शिविर पुगे र त्यहाँका स्थानीयवासीका व्यथा सुने भन्ने प्रश्नको जवाफ दिनुपर्छ। के आफ्ना कथा भन्न शेर्पा योग्य थिएनन्? त्यस समुदायका कोही विज्ञ थिएनन्? प्रभावित कोही किन छनोटमा परेनन्? शेर्पा समुदायका अलावा नेपालमा हिमाल, हिमाली जनजीवन, जलवायु संकटबारे लामो समयदेखि बौद्धिक विमर्शमा सक्रिय देशी–विदेशी यस्ता नाम पनि संवादमा छुटाइएका छन्, जसले सरकारमा बस्नेलाई आफूहरू नै सर्वज्ञानी भएको अहंबाट कुन हदसम्म ग्रस्त रहेछन् भन्ने पुष्टि हुन्छ।
शुक्रबार संवादको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले जीवनको रक्षा गर्ने हिमाललाई नबिर्सन आग्रह गरे। उनले विश्वमा जलवायु सन्तुलन कायम राख्न र करोडौं मानिसलाई खानेपानी उपलब्ध गराउन हिमालय क्षेत्रको योगदान रहेको तर विश्वका जलवायु वार्तामा हिमालहरू प्रायजसो उपेक्षित भएको पनि बताए। ठिक यहीनेर टेकेर भन्न सकिन्छ, ‘प्रधानमन्त्रीजी! तपाईं नै संयोजक रहेको सगरमाथा संवादले चाहिँ किन सगरमाथावासीलाई उपेक्षा गर्यो?’
यस खाले संवाद सगरमाथा संवाद बन्न सक्दैन। केन्द्रीकृत सोचग्रस्त शास्त्रीय सरकारी संवाद मात्र बन्न सक्छ ।
Feb 25, 2025
सम््धित खबर

काठमाडौँ — फिल्म ‘हेरा फेरी ३’ बाट अभिनेता परेश रावल बाहिरिएपछि बलिउड फिल्म क्षेत्रमा यतिबेला हलचल म...

काठमाडौँ — नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्न...










